जोमसोम बसपार्क सञ्चालन
म्याग्दी | असोज ३, २०८१
म्याग्दी: अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ ।
विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमसोममा निर्माण भएको बसपार्क सञ्चालनमा आएको हो । घरपझोङ गाउँपालिका–३ एक्लेभट्टी र वडा नं ४ जोमसोममा दुई वर्षअघि बसपार्क निर्माण भएको थियो ।
यातायात व्यवसायी र सर्वसाधारणले सडक छेउमा सवारीसाधन पार्किङ गर्दा जोमसोम बजार अस्तव्यस्त बन्नाका साथै दुर्घटनाको जोखिम बढेको थियो ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बजारभित्रका यातायात कम्पनीका टिकट काउन्टर हटाएर लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कमा पार्किङ गराउन थालिएको जानकारी दिनुभयो ।
“पहिलो चरणमा सार्वजनिक यातायातका साधनहरु बसपार्कभित्र पार्किङ गराउने र छुटाउने व्यवस्था मिलाएका छौँ”, अध्यक्ष लालचनले भन्नुभयो, “बजारभित्र यात्रु चढाउने र ओराल्ने गरी निजी तथा पर्यटक सवारीसाधनलाई पनि अनिवार्य बसपार्कको प्रयोग गर्नुपर्ने नियम लागू गराएका छौँ ।”
गाउँपालिकाले प्रतिस्पर्धामार्फत जोमसोमका सुरेश थकालीलाई रु २० लाखमा एक वर्षका लागि बसपार्क सञ्चालन र व्यवस्थापन गर्न ठेक्का सम्झौता गरेको उहाँले जानकारी दिनुभयो । सिसिटिभी क्यामेरा जडान गरिएको बसपार्कमा सुरक्षाको व्यवस्था तथा टिकट काउन्टरको सहज पहुँचको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
जोमसोमको प्रवेशद्वारस्थित एक्लेभट्टीमा घरपझोङ गाउँपालिकाले रु ४८ लाख खर्च गरेर निर्माण गरेको बसपार्कमा करिब एक सय बस, जिप, ट्याक्सी अटाउन सक्ने क्षमता छ ।
सहरी विकास तथा भवन आयोजना बागलुङले रु दुई करोड ५० लाखको लागतमा जोमसोमबाट ठिनी र कागबेनीतर्फ जाने सडकको चोकमा निर्माण गरेको बसपार्कमा एक सय ५० सवारीसाधन पार्किङ गर्न सकिन्छ ।
विसं २०७३ मा निर्माण सुरु भएको यो बसपार्क विसं २०७९ मा सम्पन्न भई गत वर्ष गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो । रु ३० लाख लगानी गरेर बसपार्कमा थप पूर्वाधार विस्तार र मर्मत गरी सञ्चालनमा ल्याइएको घरपझोङका प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले बताउनुभयो ।
बसपार्क प्रयोग गरेबापत ट्रक, बस, ट्याक्टर, लोडर र डोजरलाई प्रतिघण्टा रु २५, हलुका सवारीसाधनलाई रु १५ र मोटरसाइकललाई रु १० का दरले पार्किङ शुल्क तोकिएको छ ।
काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एक कार्यक्रम गर्दै विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा। सुनिल शर्माले नेपाली टोलीको बिदाइ गर्नु ...
पोखरा: पोखरा महानगरका मेयर धनराज आचार्यले क्वेष्ट नेपालले विद्यार्थीको गुणस्तर सुधारका लागि विद्यार्थीहरुलाई अलराउण्डर बनाएर सञ्चालन गरिने विद्यार्थी गुणीय चक्र कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने र उक्त कार्यक्रम महा...
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि...

